एभरेष्टमा शिक्षण विधि कार्यशाला सम्पन्न

March 31, 2025
एभरेष्टमा शिक्षण विधि कार्यशाला सम्पन्न

एभरेष्टमा शिक्षण विधि कार्यशाला सम्पन्न

ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा आज एक दिने शिक्षण विधि (पेडागोजि) कार्यशाला सम्पन्न भएको छ। स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ शिक्षामा देशमै अब्बल मानिएको उक्त कलेजका सम्पुर्ण विधाका शिक्षकहरूले सक्रिय भाग लिएको कार्यशालामा शिक्षण विधिका विभिन्न आयामहरूको व्यवहारिक पक्षमा विस्तृत छलफल भएको थियो। कार्यशालामा कलेजका अनुसन्धान कमिटी प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले अध्यापन गरिने प्रत्येक विषय तथा विषय भित्रको प्रत्येक च्याप्टरको उद्देश्य, च्याप्टर पिच्छे उक्त च्याप्टर अध्ययन पश्चात विद्यार्थीमा हुनुपर्ने सीप र ती सीपहरू कुन ठाउँमा कसरी प्रयोग हुन्छ भन्ने समेत स्पष्ट उल्लेख हुनुपर्ने र विद्यार्थीहरूको मूल्याङ्कन गर्दा उल्लेखित सीपहरू आर्जन भए नभएको विषयमा मात्र प्रश्नहरू सिमित हुनुपर्नेमा जोड दिए। विश्वविद्यालयका पाठ्यक्रमहरूमा विषयको उद्देश्यनै उल्लेख नहुने वा भए पनि हचुवाको भरमा उल्लेख हुने, विद्यार्थीले आर्जन गर्नुपर्ने सीप अस्पष्ट हुने र परीक्षामा सोधिने प्रश्नहरू सीपसँग सरोकार नहुने हुँदा नेपालका इन्जिनियरिङका विद्यार्थीहरूमा यस विधा प्रतिनै वितृष्णा उत्पन्न भएको तथा परीक्षामा सामेल हुने विद्यार्थीहरूको उत्तिर्ण प्रतिशत अत्यन्त न्यून हुने गरेको छ। नेपालका कलेजहरूमा इन्जिनियरिङ विद्यार्थी संख्या घट्दै जानु तर नेपाली विद्यार्थीहरू विदेशी विश्वविद्यालयमा महँगो शुल्क तिरी इन्जिनियरिङ अध्ययन गर्न जानुको प्रमुख कारणमा परीक्षाको प्रश्न र उल्लेखित सीप वीच सामञ्जस्यको अभाव प्रमुख रहेको कुरा प्रा.डा. हरिकृष्ण श्रेष्ठ बताए। कार्यशालामा शिक्षक इन्जिनियर नारायण सापकोटाले पाठ-योजना (लेसन प्लान) को विस्तृत खाका प्रस्तुत गरे भने अर्का शिक्षक इन्जिनियर प्रदिप पौडेले विद्यार्थी मूल्याङ्कन विधि कसरी व्यवस्थित र पारदर्शी बनाउने भन्ने विषयमा उदाहरण सहित प्रस्तुति गरे। कार्यशाला संयोजक इन्जिनियर निश्चल रेग्मीले गुणस्तरीय प्रयोगात्मक शिक्षा विधि र प्रयोगशाला कक्षा सुद्रिध विधिमा प्रकास पारे। कार्यशालामा उठेका प्रत्यक विषयमा उपस्थित शिक्षकहरूले समूहगत छलफल गरी प्रस्तावित शिक्षण विधिका खाकाहरूलाई अन्तिम रूप दिएका थिए। कार्यशालामा कलेजका प्राचार्य इन्जिनियर विरोध रिजाल र प्रमुख प्रशासकीय अधिकृत श्री अरुण कुमार भण्डारीले छलफलबाट आएको निष्कर्षलाई कलेज व्यवस्थापनले प्राथमिकता प्रदान गरी क्रमिकरूपमा लागु गर्ने जनाए।

 

Back to All Blogs
Apply Now